Ticker

6/recent/ticker-posts

सधैँ सर्भर डाउन, सेवाग्राही कता जाऊन् ?


- अञ्जनि फुयाँल


'सर्भर डाउन छ, आज काम हुँदैन, भोलि आउनुस् !’


प्राइभेट हाेस् वा सरकारी कार्यालयबाट यस्ताे जवाफ नसुनेका नेपाली सेवाग्राही सायदै हाेलान् । र, यसलाई हामी सामान्य मान्न थालिसकेका छाैँ । नमानेर पनि के गर्नु, साेधीखाेजी गर्‍याे भने सेवाप्रदायक संस्थाका प्रतिनिधिले उल्टै थर्काउँछन्, ‘जान्ने पल्टेको !’ 

कुनै कम्पनी, सरकारी कार्यालयले समेत सर्भर डाउनकाे समस्यालाई खासै गम्भीर रूपमा नलिएकाे महसुस हुन्छ । चुस्त सेवा पाउनुपर्छ भनी आमसेवाग्राहीले साेधीखाेजी गर्दा थर्काएर चुप लगाउन खाेज्नुले याे पुष्टि गर्छ । 

सेवाग्राहीका समस्याप्रति गम्भीर नहुनु सुशासनका लगि घातक पक्ष पनि हो । सेवाप्रदायकहरू जवाफदेही, पारदर्शी नहुनु तथा उनीहरूले जिम्मेवारीबाेध नगर्नुले सुशासनकाे बाटाेमा अवराेध गरिरहेकाे हुन्छ । 

समस्या बुझेपछि मात्र समाधानकाे बाटो पहिल्याउन सकिन्छ । डिजिटलाइजेसन, इन्टरनेट, नेटवर्कको अहिलेको जमानामा सर्भर डाउनकाे समस्या चानचुने हाेइन । त्यसैले सर्भर भनेको के हो ? यसबारे बुझ्न जरुरी छ । त्यसपछि सर्भर डाउन कसरी हुन्छ र के गर्ने भन्नेबारे चर्चा गराैँला ।

सामान्य भाषामा सर्भर भनेको सेवा दिने विशेष कम्प्युटर हो, जसले मागअनुसारको सेवा प्रदान गर्छ । जस्ताे कि, कुनै पनि बैंकको मागमा खातावालाको जानकारी, मुद्दती, बचत, ब्याज, ऋणबारे जानकारी राख्ने र कर्मचारीले मागेबमोजिमको जानकारी तत्काल उपलब्ध गराइदिने काम सर्भरले गर्छ ।

केही ठूला निजी अस्पतालले बिरामीको स्वास्थ्य इतिहास, हालको अवस्थासम्बन्धी विवरण कम्प्युटरमा राख्छन् । कुनै व्यक्ति पुनः बिरामी भएर अस्पताल आएमा चिकित्सकलाई उसकाे विगत हेरेर उपचार गर्न सजिलाे हुन्छ । 

विद्यालयहरूमा विद्यार्थीको रेकर्ड, लाइसेन्स कार्यालयमा चालकहरूबारे सम्पूर्ण विवरण, खानेपानी अफिसमा उपभोक्ताहरूले धाराबाट उपभोग गरेको पानीको मात्रा र सोअनुसारको भुक्तानी, ढिलो तिर्न आएको भएमा 'फाइन' भनेर कम्प्युटरमा देखाइहाल्नेजस्ता सम्पूर्ण जानकारी सर्भरले राखेको हुन्छ।

हरेक अफिसको सर्भर त्यहाँ दैनिक काम हुने अन्य क्लाइन्ट कम्प्युटरसँग जोडिएको हुन्छ । विशेषत: यसले जानकारीहरू राख्ने, प्रशाेधन गर्ने काम गर्दछ, जुन हरेक समय चलिरहनुपर्ने हुन्छ ।

९० को दशकदेखि प्रयोगमा आउन थालेको सर्भर ३० वर्षको दौरानमा धेरै अपग्रेड भइसकेको छ । सर्भरको प्रयोग गर्न थाल्नु नै कामहरू प्रविधिमैत्री हुँदै छन् भन्ने हाे । भौतिक रूपमा नोटबुक, रजिस्टर, फाइलहरूमा अटसमटस  गरी राखिने सबै जानकारी एवं मानिसले दैनिक अद्यावधिक गर्नुपर्ने विवरण अब कम्प्युटरबाटै हुनु हो ।

सर्भर सक्रिय गराइराख्नका लागि केही अनिवार्य सर्त हुन्छन् । जस्तै, निरन्तर बिजुलीको उपलब्धता, निरन्तर इन्टरनेट कनेक्सन, तापक्रम व्यवस्थापन हुने सिस्टम, भौतिक सुरक्षा, घाम-पानी, ओस नलाग्ने स्थानमा सर्भरको जडान, इत्यादि ।

मुसाबाट पनि यसलाई जोगाउनुपर्छ । किनभने, मुसाले कुनै तार काटिदियो भने याे निष्क्रिय हुन्छ । माथि उल्लेख गरिएका कुरा भएनन् भने सर्भर डाउन हुन्छ, यसमा थप कुरा, जस्तै हार्डडिस्क फेल भएमा, कामको भारले सीपीयू क्र्यास भएमा, मदरबोर्ड फेल हुँदा, मेमोरीमा खराबी हुँदा पनि सर्भर डाउन हुन्छ, जसको अर्थ हाम्रो काम समयमा हुँदैन र हामीले कार्यालयहरू धाइरहनुपर्ने हुन्छ ।

सर्भर अप (सक्रिय) बनाउन अनिवार्य सर्त पूरा गर्न नसकिने खालका हाेइनन् । तर, नेपालमा यसमा उदासीन हुने प्रवृत्ति छ । बरू माथि उल्लेख गरिएजस्तै उल्टै सेवाग्राहीमाथि दुर्व्यवहार गरिन्छ ।  

केही वर्षअघिसम्म नेपालमा दैनिक १६ देखि १८ घण्टासम्म लोडसेडिङ खेप्नुपर्थ्याे । अहिले लोडसेडिङ अन्त्य भएकाे बताइन्छ । तर, बेला-बेला झ्याप्पझ्याप्प बत्ती भने जान्छ । कुनै बेला १८ घण्टासम्म लोडसेडिङ झेलेका नेपालीलाई अहिले फाट्टफुट्ट बत्ती जानु समस्या नै लाग्दैन । 

तर, सर्भरमा भने यसले गम्भीर असर पुर्‍याइरहेकाे हुन्छ । सर्भरमा निरन्तर २ सय २० भोल्ट पावर मेन्टेन भइरहनुपर्छ तर करेन्टमा अवराेध हुँदा पावर सप्लाई बक्समा समस्या उत्पन्न हुन्छ । त्यसैले काटिँदै नकाटिने बिजुलीको निरन्तर उपलब्धता सर्भरमा हुनैपर्छ।

फेरि अर्को रमाइलो कुरा, एउटा सर्भर बिग्रँदैमा अथवा डाउन हुँदैमा सबै बन्द हुन्छ भन्ने हुँदैन । किनभने, प्राथमिक/मेन सर्भरको विकल्पस्वरूप अर्को सर्भर तयारी अवस्थामा राखिएको हुन्छ, जसलाई सेकेन्डरी सर्भर वा डिजास्टर रिकभरी सर्भर (Disaster Recovery Server) पनि भनिन्छ ।

यो सर्भर भौगोलिक रूपमा तटस्थ हुनुपर्दछ किनभने जुन कारणले (भौगोलिक कारण रहेछ भने) प्राथमिक सर्भर डाउन भयो, सोही कारणले यो वैकल्पिक सर्भर डाउन हुनु हुँदैन । यद्यपि, यसमा पनि सर्भर चल्ने अनिवार्य सर्तहरू भने लागू हुन्छन् । सर्भर डाउन हुनु भनेको तपाईंको कुनै काममा विलम्ब हुनु मात्र होइन ।

एउटा उदाहरण हेरौँ, टेलिमेडिसिनबाट डाक्टरसँग परामर्श लिने, उपचार गर्ने विधि प्रयोगमा आइसकेको छ । यसले धेरैलाई फाइदा पनि पुर्‍याएकाे छ । यस्तै, रिमोट सर्जरीकाे प्रयोग पनि छ, जसअन्तर्गत एक डाक्टरले आफ्नो भौतिक उपस्थितिबिना नै रोबोटको सहायताले बिरामीको‍ शल्यक्रिया गर्छन् ।

अब कल्पना गर्नुस्, शल्यक्रिया गर्दागर्दै सर्भर डाउन भइदियो भने के हाेला ? बिरामीको ज्यानसमेत जान सक्छ । 

अर्को एउटा रोचक उदाहरण हवाईजहाज हो । आकाशमा उडिरहेको हवाईजहाजबाटै पाइलटले जमिनमा रहेको स्टेसनमा सम्पर्क गरिराखेकाे हुन्छ । विमान, मौसम तथा अन्य आपतकालीन अवस्थाबारे समय-समयमा खबर गर्न सकिने प्रविधि हुन्छ ।  यस्ताे कामका लागि छुट्टै सर्भर राखिएकाे हुन्छ। अब फेरि एकछिन कल्पना गरौँ न, हवाईजहाजकाे सर्भर डाउन भयाे भने के हाेला ?

यसर्थ मानिसकाे कामसँग मात्र नभएर जीवनसँग जाेडिएकाे हुन्छ सर्भर । त्यस कारण पनि हामीले सर्भर डाउनलाई संवेदनशील मान्नुपर्छ । 

सर्भर भन्ने चीज कहिल्यै डाउन नै हुन नहुने हाे । तर, नेपालको हकमा यसलाई सामान्य मान्ने गरिएकाे छ, जुन विल्कुल गलत छ । 

त्यसाे भए के गर्ने त ? 

विकल्प भनेको उन्नत खालको व्यवस्थित सर्भर नै हो, अर्को विकल्प छैन । कि त अघिल्लो शताब्दिका नवीन सिर्जनाहरू जस्तै: बाँसमा लेख्ने, ढुङ्गा- चट्टानहरू कुँदेर जानकारीहरू लेख्ने काम गर्नुपर्‍याे वा 'एक परिवार एक चट्टान' भन्दै विवरण संकलन गर्नपर्‍याे । तर, अहिलेका लागि यी चुट्किला हुन् । 

विश्वका केही ठूला कम्पनीहरूले त सर्भर भाडामा दिने गरेका छन् । यो भनेको हामीले सार्वजनिक यातायातमा निश्चित दूरीसम्म यात्रा गरेपछि तिर्ने भाडाजस्तै हो । अथवा हामीले कोठा भाडा तिरेर बसेजस्तै हो, जहाँ सुविधा हेरेर हामी पैसाको निर्धारण गर्छौं । 

विश्वका केही ठूला कम्पनी, जस्तै अमेजोन वेब सर्भिसेस (Amazon Web Services), माइक्रोसफ्ट एजुअर (Microsoft Azzure), आईबीएम क्लाउड (IBM Cloud), अलिबाबा (Alibaba Cloud), लगायतले ‘क्लाउड सर्भिसेस’को सेवा दिन्छन् ।

क्लाउड कम्प्युटिङका लागि ठूल्ठूला भौतिक मेसिनमा लगानी त चाहिन्छ तर त्यो लगानी ती कम्पनीहरूले गरिसकेका छन् ।

हाम्रो कामको जानकारी, विवरणहरू राख्नका लागि जति आवश्यकता हुन्छ, हामी त्यसको पैसा तिर्छौं र त्यो सर्भरको व्यवस्थापन र अन्य अनिवार्य सर्तहरू सबै ती कम्पनीले पूरा गर्छन् । हामीले टाउको दुखाइरहनु पर्दैन ।

नेपालमा अहिले सर्भरको भौतिक व्यवस्थापनमा ८० प्रतिशत समय खपत भइरहेको छ । एकै पटक धेरै काम गर्नुपरेमा डाउन भइहाल्ने अर्थात् क्षमतामा कमजोर र समायानुकूल नहुने, भौतिक सुरक्षालगायतका चुनाैती छन् । 

सर्भरमा खर्च गरी नै सकेपछि सशक्त, दिगो, भरपर्दो र कम झन्झटिलो किन नराेज्ने ? 

कतिपय देशका सरकारी विभाग, मन्त्रालयदेखि सामान्य कम्पनीसमेतले क्लाउड कम्प्युटिङको प्रयोग गरिरहेका छन् । बेलायत सरकारको पोर्टल gov.uk सार्वजनिक क्लाउडमा छ, बेलायतकै कानुन मन्त्रालय, गृह कार्यालय पनि क्लाउडमै चलेको छ ।

त्यस्तै, नासा (NASA) ले पनि आफ्ना विभिन्न क्लाउड कम्प्युटिङको प्रयोगबाटै गरिरहेको छ। संयुक्त राष्ट्र अमेरिकाको नेसनल जिओस्पाटिएल इन्टेलिजेन्स (National Geospatial Intelligence), यूएस नेभी (US NAVY), स्टेट अफ एरिजोना (State of Arizona) आदि पनि क्लाउड सर्भरकै प्रयोग गरिरहेका छन् । क्लाउडको प्रयोग गर्नु भनेको कार्यालयकाे समस्या समाधान गर्नु मात्र हाेइन, आफ्ना उपभोक्ताप्रति जवाफदेही हुनु पनि हाे । 

पश्चिमा विदेशहरूमा मात्र नभएर हाम्रो छिमेकी मुलुक भारतमै पनि क्लाउड कम्प्युटिङको प्रयोग भइरहेको छ । मनिपुर सरकार, बैजु एप, जसबाट लाखौँ विद्यार्थी सेवा लिइरहेका छन् ।

नेपालमा खासगरी विश्वसनीयता र गोपनीयता, सुरक्षाबारे प्रश्न उठ्ने गरेकाे छ, जुन स्वाभाविक हो। सिंगापुर सरकार, जसले हरेक नागरिकको डिजिटल राष्ट्रिय कार्ड बनाएको छ । त्यो क्लाउड सर्भरबाटै गरिएको छ।

नेपाल सरकारसम्म क्लाउड कम्प्युटिङको कुरा नपुगेको भने होइन तर यसलाई खासै वास्ता गरिएकाे छैन । 

अहिले नेपाल सरकारको सम्पूर्ण कामकारबाहीको विवरण सिंहदरबारमा अवस्थित सर्भरमा राख्ने गरिएको छ, जसको वस्तुगत अवस्था दयनीय मात्रै होइन, सुरक्षाको दृष्टिकोणले समेत कमसल छ। सर्भरको प्राविधिक व्यवस्थापनका लागि कर्मचारी त खटाइएका हुन्छन् तर मुसा, फोहोर, धुलो-मैलो हटाउन भने थप मान्छे खटाइँदैन ।

यस्तो संवेदनशील प्रविधिमा लगानी गर्न सरकारले कन्जुस्याइँ गर्न हुँदैन ।विज्ञहरूको प्रत्यक्ष भूमिकामा डेटा सेन्टर निर्माणमा जान सकिन्छ वा आउट सोर्सिङकाे विकल्प रोज्दै क्लाउड कम्प्युटिङमा जानु उचित हुन्छ । हेटौँडामा निर्माण गरिएको डिजास्टर रिकभरी सर्भर DRS हेर्दा सरकारले सर्भरको महत्त्व बुझ्दै गएकाे हाे कि भन्नेचाहिँ लाग्छ । तर, याे मात्र पर्याप्त छैन ।सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रको प्राइमरी सर्भरकाे स्तराेन्नति एवं वास्तविक अवस्थाकाे गहन अध्ययन गर्नुपर्छ, धान्न नसक्ने भए विकल्प खाेज्नुपर्छ ।  

अहिले प्रयोगमा रहेका भौतिक सर्भर र यसको परम्परागत रेखदेखको विकल्पबारे कम जानकारी भएर पनि अन्य विकल्प नखोजिएको हुन सक्छ । अर्को भनेको नवीन प्रयोगबारे साेच्दै नसाेच्ने प्रवृत्ति हाे । यसरी त हामी विश्वस्तरमा कहिले प्रतियाेगी बन्न सक्छाैँ र ! 

त्यसैले विद्युतीय सुशासन कायम गर्दै सूचना प्रविधिको अधिकतम प्रयोगबाट सार्वजनिक सेवा चुस्त दुरुस्त पार्न पनि सरकार तथा मातहातका सम्पूर्ण कार्यालयले सर्भरको उचित व्यवस्थापनमा ध्यान दिनैपर्छ । 


Copy from shilapatra news

Post a Comment

0 Comments